काठमाडौँ – काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६विकेट गुमाउँदै २२० रन बनायो ।
एनपीएलको इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पच्छ्याउँदै जवाफी ब्याटिङ गरेको पोखरा १८।५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमै समेटिएको हो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । त्यसक्रममा उनले ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै एदम रोसिग्टनले ३९, डेन डाउथवेटले २९ र अभिषेक तिवारीले ११ रन बनाउनुबाहेक अन्यले दोहोरा अंक छुन सकेनन् । बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने, प्रतिश जिसी, शुभम रनजाने र मर्चेन्ट डि लांगेले समान २–२ विकेट लिए । बासिर अहमद र सूर्य तामाङका नाममा १–१ विकेट रह्यो ।
यसअघि एनपीएल इतिहासकै उच्च स्कोर बनाउने क्रममा विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले ४८ बलमा १ चौका र ७ छक्का प्रहार गरे । यस्तै मार्टिन गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्का ठोक्दै ६५ रन जोडे ।
गप्टिलले दोस्रो विकेटका लागि लोकेशसँग मिलेर १३२ रनको साझेदारी गरेपछि विराटनगरले उच्च स्कोर बनाएको हो । यस्तै शुभम रनजानेले १६ बलमा ३८ तथा बासिर अहमदले १३ बलमा २३ रन जोडे भने जर्ज मुन्से १० रनमा आउट भए । नारायण जोशी ११ रनमा नटआउट रहे ।
बलिङतर्फ पोखराका म्याट टेलरले २ विकेट लिए भने सागर ढकाल, आकाश चन्द र कुशल भुर्तेलका नाममा १–१ विकेट रह्यो ।
एनपीएल अन्तर्गत भोलि काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।



























































