काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रहरूमा 2G/4G सेवा विस्तार गर्दै विभिन्न गाउँबस्तीहरूलाई पहिलो पटक आधुनिक दूरसञ्चार सेवामा जोडेको छ ।
दुर्गम क्षेत्रसम्म सञ्चार पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार टेलिकमले प्रतिफल कम आउने भए पनि समान रूपमा सेवा पुर्याउने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
हुम्ला जिल्लाको सर्केगाड–३ र ६ मा 2G/4G सेवा सञ्चालनमा आएपछि सर्केगाड गाउँपालिकाका वडा नं. २, ३, ४ र ६ अन्तर्गतका बस्तीहरू — उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ — पहिलो पटक गुणस्तरीय सेवामा जोडिएका छन् । यस्तै अदानचुली–६ मा सेवा विस्तार भएसँगै अदानचुली गाउँपालिकाका वडा नं. २, ३, ४, ५, ६ तथा सर्केगाड–२ का पानचौर, कालिका लगायतका बस्तीहरू लाभान्वित भएका छन् ।
दैलेखको गुराँस गाउँपालिकामा 4G सेवा सञ्चालनमा आएसँगै गुराँस–३, ४, ५ का बस्तीहरू, गुराँस बजार, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला, वीरेन्द्रनगर–१४ को बयलकाँडा र बराहताल–९ को लेकगाउँ क्षेत्रमा पहिलो पटक गुणस्तरीय मोबाइल सेवा पुगेको छ ।
जाजरकोटको जुनीचाँदे–७, ८, ९, १० र ११ का बस्तीहरू पनि कोत्राङ्गमा सेवा सञ्चालनमा आएपछि आधुनिक सञ्चार सेवामा जोडिएका छन् ।
त्यसैगरी डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाको मिदग्ती लेकमा फोरजी टावर सञ्चालनमा आएसँगै फोक्सुन्डो ट्रेल, यार्सा पाटन, छेप्का, भोक्पा, सागबारी तथा सुलिगाडस्थित निकुञ्ज कार्यालय क्षेत्रलगायतका बस्तीहरू पहिलो पटक दूरसञ्चार सेवामा जोडिएका छन् ।
कर्णालीभर 2G/4G सेवा विस्तारसँगै दर्जनौँ बस्तीहरू सञ्चार पहुँचमा आउन सफल भएका छन् । हाल प्रदेशका ७५३ local तहमध्ये ७४९ तहमा टेलिकमको 4G सेवा पुगेको टेलिकमले जनाएको छ ।




























































