काठमाडौं – काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका कुल ५१ ओटा मोटरसाइकल र स्कुटर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।


ADVERTISEMENT


काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा ३३ मोटरसाइकल र १८ स्कुटर धनीको जिम्मा लगाए।


ADVERTISEMENT

# # #


ट्राफिक प्रहरीले प्राप्त निवेदनका आधारमा खोजतलासका क्रममा केही सवारीहरू वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा गोंगबु, नयाँ बसपार्क, बालाजु, सीतापाइला, बौद्ध, कोटेश्वर, काँडाघारी, लुभु, पुतलीसडक, सिंहदरबारलगायत उपत्यकाका विभिन्न स्थानबाट फेला पारेको थियो।

आज हस्तान्तरण गरिएका ५१ सहित साउनयता ट्राफिक प्रहरीले ९१ ओटा चोरी भएका सवारी साधन धनीलाई फिर्ता गरिसकेको छ। चोरीमा संलग्न १९ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालय पठाइएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ र २०८१/०८२ मा ५०३ ओटा चोरी वा हराएका सवारी साधन फेला पारेर धनीलाई बुझाइएका छन्।

सवारी चोरी रोकथामका लागि सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक जडान गर्ने तथा एकान्त स्थानमा सवारी नछोड्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। साथै, सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।