काठमाडौँ–राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाण्डौं महानगरपालिका बीच धरहरा परिसर र आसपासमा नयाँ संरचना निर्माणमा रोक लगाउँदै हाल बनिरहेका संरचनालाई यथास्थानमै राख्ने सहमति भएको छ ।


ADVERTISEMENT


प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको संयोजकत्वमा बुधबार सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहितको संयुक्त बैठकले बिनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको ऐतिहासिक धरहराको शीघ्र पुनर्निर्माण हुन गइरहेको सन्दर्भमा धरहराको सुन्दरतालाई असर पार्न सक्ने भन्दै यस्तो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


अर्को सूचना नभएसम्मका लागि हाललाई धरहरा परिसर आसापासमा निर्माण भइरहेका संरचना रोक्का गर्ने निर्णय भएको हो ।

गुठी संस्थानले आफ्नो हकभोगमा रहेको जग्गामा ठेक्कापट्टा लगाएको भए त्यसलाई तोड्न समेत बैठकले निर्देशन दिएको प्रमुख कार्यकारी अधिकृत भूसालले बताए । बैठकमा गुठी संस्थानका प्रतिनिधिहरुले आफ्नो हकभोगको जग्गा प्रयोग गर्न पाउनुपर्ने धारणा राखेका थिए ।

जवाफमा प्रमुख कार्यकारी अधिकृत भूसालले सो सम्बन्धमा नेपाल सरकारले आवश्यक व्यवस्था गर्ने भन्दै तत्कालका लागि संरचना निर्माणको कार्य यथास्थानमै राख्न प्राधिकरणले गुठी संस्थानलाई लिखित रुपमै पत्राचार गर्ने जानकारी गराए ।

बैठकमा प्रमुख कार्यकारी अधिकृत भूसालले ती पुनर्निर्माण हुन थालेका जग्गाहरुको हकको बिषयमा नेपाल सरकारलाई आवश्यक परेमा पछि अधिग्रहण वा सट्टापट्टा गर्न सकिनेतर्फ आश्वस्त पारे ।

यसैगरी बैठकमा काठमाडौँ महानगरपालिकाले धरहरा परिसरमा भाडामा लगाएका सम्पूर्ण सटरहरु १५ दिनभित्र खाली गराउने सहमति भएको छ । गोश्वारा हुलाकलगायत संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंक अन्तर्गत रहेका सरकारी कार्यालयलाई स्थानान्तरणका लागि संचार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए । यी सबैको कार्यको नियमित निगरानी गरी स्थानीय प्रशासनले प्राधिकरणलाई आवश्यक सहयोग गर्नेछ ।

बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यादव कोइराला, प्राधिकरणका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, गुठी संस्थानका निमित्त प्रमुख दीपक बहादुर पाण्डे, काठमाडौँ महानगरापलिका वडा नम्बर २२ का वडाध्यक्ष चिनकाजी महर्जनलगायतको सहभागिता थियो ।