काठमाडौँ – भारतीय राजदूतावासले “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर” नामक कार्यक्रम आयोजना गरेको छ ।
एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा राजदूतावासले शुक्रबार उक्त कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमलाई आगामी फागुन ७–८ मा नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि–समिटको रूपमा मान्यता दिइएको छ ।
उक्त कार्यक्रममा छलफलका प्रमुख क्षेत्रहरू मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो । कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरु उपस्थित थिए ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल सरकारको एआई सम्बन्धी पहलहरु र यस क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गरे ।
यस्तै नेपालकालागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको ‘सबैका लागि एआई’को दृष्टिकोणमा अन्तर्निहित सिद्धान्तहरूको व्याख्या गरे । उनले आगामी एआई इम्प्याक्ट समिटको उद्देश्य एआई सम्बन्धी विश्वव्यापी व्याख्यानलाई परिवर्तन गरी एआईले मानवीय जीवनका सबै पक्षहरूमा पार्ने ‘प्रभाव’ र यसको भविष्यमा हुने अभिव्यक्तिहरूमा केन्द्रित हुने कुरामा जोड दिए । उनले नेपाली युवाहरूलाई ‘सबैका लागि एआई र उनका लागि एआई’ र ‘वाईयूभीएआई’ जस्ता विभिन्न एआई चुनौतीहरूमा ठूलो संख्यामा सहभागी हुन पनि प्रोत्साहित गरे ।
यस्तै डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी अमिताभ नागले ‘सबैका लागि एआई’को भावना अनुरूप भारतमा सार्वजनिक सेवाहरूको रूपान्तरणमा भाषिणीको भूमिकाको विषयमा मुख्य प्रस्तुति दिए ।
अब्जर्भर रिसर्च फाउन्डेसन, डिजिटल सोसाइटीज इनिसिएटिभका निर्देशक अनिर्बान शर्माले सहभागीहरूलाई एआई इम्प्याक्ट समिटको बारेमा परिचय गराए ।
त्यसपछि एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा.सुरेश पोखरेलद्वारा सञ्चालित “लेभरेजिङ एआई फर नेपाल्स ग्रोथ” विषयक एक विज्ञमण्डलको छलफल भएको थियो । यस विज्ञमण्डलमा नेपाल सरकारका सहसचिव श्री आदेश खड्काले नेपालको लागि एआई नीति विकास गर्ने बारेमा आफ्नो दृष्टिकोण साझा गरेका थिए ।
रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ई. विकास गुरुङले नेपालका युवाहरूमाझ रोबोटिक्स र एआई अपनाउने प्रवृत्ति बढाउनका लागि गरिएका पहलहरूको बारेमा विस्तृत रूपमा बताए भने वृद्धि सञ्जालका संस्थापक शिक्षित भट्टले नेपालको डिजिटल पब्लिक इन्फास्ट्रक्चर स्ट्याकको लागि एआई किन एक प्रमुख भाग हुन सक्छ भनेर व्याख्या गरे । अमिताभ नाग र अनिर्बान शर्माले पनि भारतको एआई क्षेत्रका अनुभवहरू साझा गर्दै छलफलमा सहभागिता जनाए ।
फेब्रुअरी २०२६ मा आयोजना हुने एआई इम्प्याक्ट समिटमा अन्य कुराका साथसाथै तीनवटा विश्वव्यापी चुनौतीहरू र एक अनुसन्धान गोष्ठी पनि समावेश हुनेछ । जसको लागि https://impact.indiaai.gov.in मा गएर अनलाइन आवेदन दिन सकिने भारतीय राजदूतावासले जनाएको छ ।































































