काठमाडौँ – यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो । जसले मौसम चिसो बढाएन मात्रै ठाउँठाउँमा हिमपात गरायो । धानबालीमा पनि ठूलो क्षति भयो । ठाउँठाउँको जनजीवन प्रभावित भए ।
अहिले हेर्दा गत वर्षको मङ्सिरको तुलनामा यसपालि बढी चिसो महसुस भएको छ । अब शीलतहर र हिमपातको समय सुरु भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपातसम्बन्धी पूर्वतयारी तथा राष्ट्रिय प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ ।
सोही कार्ययोजनामुताविक हरेक जिल्लाले आफ्नो भौगोलिक अवस्था हिमपात र शीतलहरको सम्भावित जोखिम तथा अन्य कारकतत्वहरूलाई समेत केन्द्रमा राखेर धमाधम शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेका छन् । धेरैजसो जिल्लाहरूले अबको एक हप्तामै कार्ययोजना तयार पारी लागू गर्नेगरी काम भइरहेको जानकारी गराएका प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिए ।
उनले भने, “राष्ट्रिय कार्ययोजना जिल्लामा गइसकेको छ, भर्खरै हामीले छलफल पनि गर्यौँ, त्यही आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले आफ्नो काम गरिरहेका छन् । प्राधिकरणसँगको छलफलमा एक हप्ताभित्र लागू गर्नेगरी काम भइरहेको जिल्लाका प्रजिअहरूले जानकारी गराउनुभएको छ । यसपालि हामीले समयमै प्रतिकार्य योजना बनाएर लागू गरेका छौँ ।”
नेपालको तराई–मधेसका जिल्लाहरूमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको असर मङ्सिरदेखि फागुनसम्म हुन्छ । यसबाट विपन्न वर्गका व्यक्ति, पशुपन्छी, हिउँदो खेतीबाली बढी प्रभावित हुने गरेका छन् । वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती, अपाङ्गता भएकाहरू र दीर्घरोगीलाई बढी समस्या हुने भएकाले यो बेलामा उहाँहरूलाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ । सोही आधारमा कार्ययोजना बनाइएको जिल्लाका प्रजिअहरूले बताएका छन् ।
राष्ट्रिय कर्यायोजनाका आधारमा जिल्ला जिल्लामा प्रतिकार्य योजनाहरू निर्माण भइरहेका छन् । हिमपात र शीतलहर प्रभावित केही जिल्लामा चुस्त तयारी गरिएको छ ।
हिमपातबाट प्रभावित हुने जिल्ला मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्याल कात्तिक १० र ११ गतेको बेमौसमी हिमपातले तिलिचो र थोराङलापासमा पर्यटक प्रभावित बनाएको स्मरण गर्दै आठ सय जति पदयात्रीलाई उद्धार गर्नुपरेको सुनाउँछन् ।
अब पनि त्यस्तै हिमपात हुने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो । त्यसबेला सो क्षेत्रमा दुई जना भारतीय नागरिकको दुःखद् निधन भएको थियो ।
उनका अनुसार गएको १५ वर्षको अवधिमा २०७१ सालमा १५ जनाको निधन भएको र अन्य समयमा भने ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ । यसपालि पनि मानवीय क्षति नहोस् भनेर समयमै हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइरहेको र केही दिनमै लागू हुने उनी बताउँछन् ।
“अब हामीले टुरिष्ट गाइडहरू नभएका पर्यटकलाई यो बेला पठाउँदैनौँ, अन्य समूहमै पठाउनेछौँ, विद्युत् र फोनका समस्याले गर्दा केही कठिनाइ हुने हुँदा सोहीअनुसारको प्रतिकार्य योजना बनेको र एक हप्तामै लागू हुन्छ”, उनले भने।
यस्तै, हिमपातबाट प्रभावित हुने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले केही दिनमै प्रतिकार्य योजना तयार भएको बताइन् । उनले भनिन्, “हिमबाढी र हिमपहिरोमै हामी प्रतिकार्य योजना केन्द्रित गर्छौँ, यहाँ रेस्क्यु टिमसहित ड्रोन र प्रहरी जनशक्ति थप भएमा प्रतिकार्यका लागि सहज हुन्छ, त्यसको प्रयासमा लागिरहेका छौँ ।” कात्तिकको हिमपातमा हवाईमार्ग रोकिँदा पर्यटक अड्किएर व्यवस्थापनमा चुनौती भएको पनि उनले सुनाइन् ।
यता शीतलहर प्रभावित जिल्ला महोत्तरी र रौतहटमा पनि पनि अन्तिम तयारी गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सम्भावित जोखिम क्षेत्र पहिचान गरी प्रतिकार्य योजना निर्माण गरिएको बताउँछन् ।
रौतहटका प्रजिअ दिनेशसागर भुसाल बागमती लालबकैया नदीले चिरेको रौतहट बाढीसँगै हुस्सु शीतलरबाट समेत प्रभावित जिल्ला भएको बताउँछन् । उनी शीतलहरका समयमा रौतहटमा चिसोलगायत घुर ताप्दा विभिन्न कारणले जोखिम बढ्नुका साथै सोही समयमा दुर्घटनासमेत दोब्बरले बढ्ने बताउँछन्
यस्तै, निमोनियाका बिरामी नौ गुणा वृद्धि हुने भएकाले सोहीअनुसारको तयारी गरी प्रतिकार्य योजना अन्तिम चरणमा पुगेको उनले बताए ।
प्राधिकरणका अनुसार शीतलहरबाट कोशीका झापा, सुनसरी, मोरङ, मधेस प्रदेशमा सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा, बागमतीमा चितवन, गण्डकीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व), लुम्बिनीमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र सुदूरपश्चिममा कैलाली र कञ्चनपुर प्रभावित हुने अनुमान गरिएको छ । यस्तै हिमपातबाट कोशीका ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम, ओखलढुङ्गा, भोजुरको माथिल्लो क्षेत्र प्रभावित हुने अनुमान गरिएको छ ।
त्यसैगरी, बागमतीको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा र धादिङ गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ, कास्की, लुम्बिनी प्रदेशको रुकुमपूर्व, कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट र सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, दार्चुला बैतडी र डडेलधुरा जोखिममा रहेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले ती क्षेत्रहरूमा कुनै पनि क्षति व्यहोर्नुनपर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् । रासस


























































