काठमाडौँ – नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेनजी युवाहरुको मर्म र भावना अनुसार जेनजी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले जनेजी युवाहरुको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसंगै अघि बढ्न नसक्ने धारणा राखे । प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी पुस्तासंग जोडिएको पार्टी भएकाले युवाहरु नै पार्टीको नेतृत्व लिनुपर्ने उनले बताए ।

भट्टराईले अहिले कम्युनिष्टमा ठग प्रवृति देखिएकाले धेरै दिन नटिक्ने तर्क गरे । धरापमा परेको लोकतन्त्र र जटिल भूराजनीतिक अवस्थाबाट देशलाई बढाउनका लागि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने उनले बताए ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधिशको भक्ति गर्न छाडेर नयाँ पार्टीमा सामेल भएको बताए । राजनीतिक दलका नेता तथा कार्यकर्ताको भ्रष्टिकरण, परिवारवाद, सत्ताको कुर्सीको खेलका कारण देश अर्थराजनीतिको संकटको भूमरीमा परेका कारण युवाहरुमा चरम निराशा छाएको र त्यसका कारण जेनजी आन्दोलन भएको उनले बताए ।

संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन नसकेको उनले बताए । उनले पार्टीले निकट भविष्यमा राजनीतिक पुरसंरचना सम्मेलनको आयोजना गर्ने जानकारी दिए ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले नयाँ पार्टीले समावेशी सामूहिकता नेतृत्वको बिकास गरेको र सामूहिकताबाट नै जनतालाई केन्द्रमा राखेर लोकतन्त्रलाई बलियो बनाउने बताए । जेनजी आन्दोलनले समकालीन नेपाली राजनीतिको चेतना खोलिदिएको भन्दै उनले राष्ट्रको चिन्ता गर्नेहरू एक ठाउँमा आउने अवस्था सिर्जना भएको धारणा राखे ।

त्यस्तै नेता राम कार्कीले विचारबाट सशक्त भएर म्याद सकिएको नेतृत्वलाई प्रतिस्थापन गर्न ‘जेनजी’ पुस्तालाई सुझाव दिए । नेता सुदन किरातीले देशमा रहेका समग्र जनताको तस्बिर अब आफ्नो दलमा पाइने बताए ।