काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रको अभ्यास गर्ने दलहरुले नै जनताको अभिव्यक्ति रोक्न खोज्नु गलत भएको बताएका छन् ।
मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्र र गणतन्त्रको मूल उद्देश्य जनताको पहुँच, सेवा र विकासलाई गाउँ–गाउँसम्म पुर्याउनु हो भन्दै राज्यका शक्तिहरू अब स्थानीय तहमै पुगेको बताएका हुन् ।
उनले भने, “गणतन्त्र भनेको गाउँको पहुँच बढ्नु हो। आज गाउँ–गाउँमा सिंहदरबार आएको छ। तर सुशासनका कमी–कमजोरी हटाउन सत्ता चलाउने निकाय जिम्मेवार र उत्तरदायी बन्नुपर्छ।”
मुख्यमन्त्री बानियाँले गरिबमुखी, गाउँमुखी, आयमुखी तथा जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर तत्काल सेवा र न्याय दिन सक्ने प्रणालीको विकास आवश्यक रहेको बताए। उनले पछिल्लो समय काम नहुने, ढिलासुस्ती र बढ्दो भ्रष्टाचारले जनतामा असन्तोष बढेको उल्लेख गरे।
सामाजिक सञ्जालमा अभिव्यक्ति रोक्नेजस्ता प्रवृत्तिबारे टिप्पणी गर्दै उनले यस्तो कदम जनतामाथिको अन्याय हुने बताए। “आजको युवा पुस्ताले पुस्तिका होइन, मोबाइल र अनलाइनमा सिक्ने अभ्यास गर्छ। प्रजातन्त्रको अभ्यास गर्ने दलहरूले नै अभिव्यक्ति रोक्न खोज्नु गलत हो,” उनले भने।
आगामी फागुन २१ गते घोषण भएको निर्वाचनको प्रसंग उठाउँदै मुख्यमन्त्री बानियाँले सरकारको जिम्मेवारी निष्पक्ष र स्वच्छ वातावरण सुनिश्चित गर्नु तथा दल–संगठन र जनताले स्वतन्त्र रूपमा सहभागिता जनाउन पाउनु पर्ने बताए।
उनले भवान भित्र बसेर काम गर्ने जनप्रतिनिधिहरु, अध्यक्ष, उपाध्यक्ष तथा अन्य प्रमुख प्रशासनले इमान्दारीपूर्वक आफ्नो दायित्व पूरा गर्ने धारणा व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले भने, “भवनभित्र कार्यरत कर्मचारीहरूले लगाएको सेतो सट र साडीमा कुनै दाग नलाग्ने गरी जिम्मेवारीपूर्वक काम गर्ने विश्वास रहेको छ।” कार्यक्रममा उपस्थित प्रमुख व्यक्तिहरूले पनि भवन सञ्चालनमा पारदर्शिता र इमान्दारी कायम राख्ने प्रतिबद्धता व्यक्त गरे।
समयले कसैलाई नपर्खने भन्दै मुख्यमन्त्री बानियाँले प्रशासनिक र राजनीतिक दुवै तहले आफ्ना कमी–कमजोरी सच्याउँदै जनउत्तरदायी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।





























































