काठमाडौं–संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपाल को आन्तरिक अवस्था ‘भद्रगोल’ बन्दै गएको छ। भद्रगोल अवस्थाकै कारण जनताबीच पार्टी कमजोर र प्रभावहीन बन्न थालेको छ ।


ADVERTISEMENT


७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर बनेको राजपा नेपालमा पार्टी सञ्चालनका लागि विधानसमेत अभाव छ । पूर्ण विधान नभएकै कारण सो पार्टी विधिवत रूपमा सञ्चालन हुन सकेको छैन ।


ADVERTISEMENT

# # #


पार्टी एकीकरण गर्दैगर्दा नेताहरूले एक वर्षभित्र एकता महाधिवेशन गर्ने उद्घोष गरेका थिए। तर, एकीकरण भएको एक वर्ष बितिसक्दासमेत अधिवेशनको तयारीसमेत हुन सकेको छैन ।

पार्टी पनि एकीकरणअघि रहेका ६ पार्टीका अध्यक्षको ‘सिन्डिकेट’कै आधारमा सञ्चालन भइरहेको छ । संघीय संसद्मा चौथो ठूलो दलका रूपमा रहेको राजपा नेपालले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारीसमेत छनोट गर्न सकेको छैन ।

आन्तरिक विवाद, विधान अभावका कारण पदाधिकारी छनोट गर्न नसकिएको हो । संसदीय दलको नेता बन्नका लागि अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले लबिङ गरिरहेका छन् ।

यी दुई नेताबीचको टकरावका कारण राजपा नेपालले संसदीय दलको नेता छनोट गर्न नसकेको हो । दलको नेता छनोट गर्न अध्यक्षमण्डलको बैठक एक महिनाअघि बसे पनि छनोट गर्न सकेन ।

उता, पछिल्ला दिनमा ठाकुर स्वयं बिरामी परेपछि बैठक वा छलफलसमेत हुन सकेको छैन । – आजको राजधानी दैनिकबाट