काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् । आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।


ADVERTISEMENT


गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भने “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुुभएको हो” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिएको प्रेस संयोजक दाहालले बताए ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगको विषयलाई लिएर गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिएका थिए । शिजो साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच एक घण्टा लामो संवाद भएको थियो ।

बुधबार साँझ पार्टी कार्यालयमा सभापति देउवा र निधिबीच झण्डै एक घण्टा कुरा भएको पछिल्लो केही दिनदेखि दुबैलाई एकठाँउ ल्याउन निरन्तर प्रयास गरिएको एक कांग्रेस नेताले बताए। ‘दुई जनाको भेटपछि आपसमा देखिएको विवाद र असमझदारी हटाउने र लामो समयदेखि दुई जनाबीच कायम सहयात्रालाई बलियो बनाएर लैजाने सहामति भएको थियो,’ ती नेताले भने, ‘हिजो साँझको भेट पछि दुबै नेताबीच ‘मन माझामाझ’ भएको हो’।

कांग्रेस–माओवादी गठबन्धन निर्माणदेखि संविधान संशोधन प्रक्रियामा असन्तुष्ट मधेसी मोर्चालाई सहमतिमा ल्याउन निधिले महत्वपूर्ण भूमिका खेलेको भन्दै भेटमा सभापति देउवाले उनको प्रशंसा गरेका थिए। अहिले मुलुक निर्वाचनमा होमिएको बेला गृह मन्त्रालयको जिम्मेवारीमा फर्कन देउवाले निधिलाई आग्रह गरेको ती नेताले बताए। ‘आइजीको विषयलाई लिएर हामीबीच जे असहमति भयो, त्यसलाई पन्छाउँ’ देउवाको भनाई उदृत गर्दै ती नेताले भने,‘आगामी दिनमा पनि हामी सँगै मिलेर जाने हो।’ मुलुक पहिलो चरणको स्थानीय तह निर्वाचनमा होमिएको बेला गृह मन्त्रालयको जिम्मेवारी बहनबाट बाहिर बस्दा यसले सरकार, पार्टी र निधि स्वयंलाई पनि असर पार्ने विषयमा गम्भीर भएर सोच्न सभापति देउवाले निधिलाई सम्झाएका थिए।