लमजुङ- स्थानीय तह चुनावका लागि नेपाली काँग्रेस नगर सभापति नै स्वतन्त्र उम्मेदवार बनेका छन् । नेपाली काँग्रेस सुन्दरबजार नगर कार्यसमितिका सभापति द्वारिका मिश्रले नगर प्रमुख पदका लािग आफ्नो प्यानलसहित स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।


ADVERTISEMENT


नेपाली काँग्रेसले आफूलाई आधिकारिक उम्मेदवार नबनाएपछि मिश्रले आफ्नो सेट बनाएर उम्मेदवारी दर्ता गराएका छन् । ११ वडा रहेको सुन्दरबजार नगरपालिकामा मिश्र पक्षबाट उपप्रमुखमा रामचन्द्र अधिकारी र १० वटै वडामा सबै पदाधिकारीसहितको स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।


ADVERTISEMENT

# # #


सुन्दरबजार नगरपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा बद्रीमान श्रेष्ठलाई अघि सारेको छ भने उपप्रमुखमा ज्ञानु शाहले उम्मेदवारी दिएकी छन् । त्यस्तै, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट एमालेका जनकराज मिश्रलाई प्रमुख र उपप्रमुखमा माओवादीकी शान्ता भुजेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, राप्रपाका तर्फबाट प्रमुखमा पार्वती वाग्ले, उपप्रमुखमा नवराज बसौला रहेका छन् । यसैगरी, नयाँ शक्ति र सङ्घीय समाजवादी गठबन्धनबाट उपप्रमुखमा ऋषि पोख्रेलले मनोनयन दर्ता गराएका छन् ।

नुवाकोटमा पाँच गुणा बढी उम्मेदवारी

नुवाकोट : स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा चारसय ६४ पद जनप्रतिनिधि निर्वाचित गर्न पाँच गुणा बढी उम्मेदवारी दर्ता भएको छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा यही वैशाख ३१ गते हुने निर्वाचनका लागि दुई हजार सातजनाले उम्मेदवार मनोनय दर्ता गरेका छन् ।

विदुर नगरपालिकामा ६७ पदका लागि तीनसय १६, बेलकोटगढी नगरपालिकामा ६७ पदका लागि दुईसय ८२, दुप्चेश्वर गाउँपालिकामा ३७ पदका लागि एकसय ४७, पञ्चकन्या गाउँपालिकामा २७ पदका लागि एकसय १६, तादी गाउँपालिकामा ३२ पदका लागि एकसय ३७ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

यस्तै, सूर्यगढी गाउँपालिकामा २७ पदका लागि एकसय आठ, ककनी गाउँपालिकामा ४२ पदका लागि एकसय ८६, शिवपुरी गाउँपालिकामा ४२ पदका लागि एकसय ७९, तारकेश्वर गाउँपालिकामा ३२ पदका लागि एकसय १५, मेघाङमा ३२ पदका लागि एकसय ४०, किस्पाङ गाउँपालिकामा २७ पदका लागि एकसय १७, लिखु गाउँपालिकामा ३२ पदका लागि १६४ ले उम्मेदवारी दिएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवार मनोनयन दर्ताको नामावलीमा उल्लेख गरिएको छ ।