काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले पहिलो जित हात पारेको छ । जनकपुरले आज भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनायो । जवाफी ब्यााटिङमा उत्रिएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।
जनकपुरलाई पहिलो जित दिलाउने क्रममा माज सदकात र अनिल साहले सानदार ब्याटिङ गरे । त्यसक्रममा माजले ३० बलमा ६ चौका र ३ छक्का ठोक्दै सर्वाधिक ६३ रन बनाए भने अनिलले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन जोडे ।
यस्तै अजय महताले नटआउट १८ तथा आशिफ शेखले पनि १८ रन नै जोडे । बलिङतर्फ चितवनका शोहेल तानवीर अमर रौटेलाले समान १–१ विकेट लिए ।
यसअघि चितवनका लागि ब्याटिङतर्फ ओपनरद्वय डेविड मलान र अर्जुन साउँदले अर्धशतक हिर्काए । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे । यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारीसमेत भयो ।
बलिङतर्फ जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले १–१ विकेट लिए । आजै अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् ।


























































