विराटनगर–केन्द्र जस्तै प्रदेश सभाको बैठकमा पनि प्रदेश सभा सदस्यहरु अनुपस्थित हुने रोग सरेको छ । १ नम्बर प्रदेश सभाका कतिपय सदस्यहरु ३९ पटक प्रदेश सभा बैठक चल्दा जम्माजम्मी १० पटक मात्र प्रदेश सभाको बैठकमा सहभागी भएका छन् । प्रदेश सभाको बैठकको सो अवधिमा १० पटक भन्दा माथि सांसदहरु उपस्थित नहुनेको संख्या पनि धेरै छ ।


ADVERTISEMENT


एमालेका केन्द्रीय सचिव भीम आचार्य १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य हुन् । तर उनी प्रदेश सभाको बैठकमा धेरै समय अनुपस्थित रहने गरेका छन । हिउँदे अधिवेशन सकिसक्दा उनी जम्मा १० पटक मात्र प्रदेश सभाको बैठकमा सहभागी भए । कुल ३९ पटक प्रदेश सभाको बैठक हिउँदे अधिवेशन सकिँदासम्म बसेको थियो । उनी यसअघि १ नम्बर प्रदेशको मुख्य मन्त्रीको प्रतिस्पर्धी समेत हुन् । तर उनी मुख्यमन्त्री शेरधन राईसँग पराजित भएका थिए ।


ADVERTISEMENT

# # #


प्रायजसो काठमाडौं बस्ने उनी सबैभन्दा बढी प्रदेश सभाको बैठकमा अनुपस्थित हुने प्रदेश सभा सदस्य समेत बनेका छन् । उनी सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’बाट विजयी भएका थिए । एमालेका तर्फबाट प्रदेश सभा सदस्य गणेशकुमार काम्बाङ पनि नेता आचार्य पछि सबैभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्य हुन् ।

पाँचथर क्षेत्र नम्बर १ (क) बाट विजयी काम्बाङ प्रदेशसभामा २१ बैठकमा अनुपस्थित रहेका छन । उनी जम्मा १८ बैठकमा मात्र सहभागी भएको देखिन्छ । प्रदेश सभा सचिवालयका अनुसार कुल ३९ वटा प्रदेश सभा सञ्चालन हुँदा २० जना प्रदेश सभा सदस्य १० भन्दा कम प्रदेश सभाको बैठकमा सहभागी भएको देखिन्छ ।

सो अवधिमा सबै प्रदेश सभाको बैठकमा ११ जना प्रदेश सभा सदस्य हाजिर भएका छन् । संविधानको धारा ८९ को (घ) मा सदनलाई सूचना नदिइ लगातार दशवटा बैठकमा अनुपस्थित भएको खण्डमा प्रदेश संसदको सदस्यता खारेज हुन सक्ने व्यवस्था छ । १० दिनभन्दा बढी समयपछि बैठकको विदा लिनुपर्ने भएमा सभापतिको स्विकृती लिनुपर्ने प्रावधान छ ।

प्रदेश सभामा बैठकमा सहभागी सदस्यलाई प्रतिबैठक करसहित ७ सय ५० रुपैयाँ भत्ता दिने ब्यवस्था छ । बैठकमा गयल भएमा सो भत्ता पाइँदैन । प्रदेश संसद बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा गणपूरक संख्या नपुगेर बैठक स्थिगत गर्नुपर्ने अबस्था भने नरहेको संसद सचिवालले जनाएको छ ।

प्रदेश १ का प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले सबैभन्दा बढी सदनमा उपस्थित नहुने प्रदेश सभा सदस्य भिम आचार्यले आफुसंगको स्विकृतीमा प्रदेश सभा विदा लिएको बताए । ‘धेरै समय काठमाडौं बस्नु पर्ने भएको जानकारीसहित उहाँले लिखित निवेदन दिएर विदा माग्नु भएको छ, उहाँको विदाको अबस्था भने लामो देखिन्छ’, सभामुख भण्डारीले भने ।

प्रदेश सभा सदस्यहरुले तलव, भत्ता लगायतका सेवा सुविधा निर्धारण सम्बन्धी कानुन नबन्दै यसअघि नै प्रदेशसभाका सदस्यहरुले मासिक ४५ हजार रुपैयाँका दरले रकम बुझिसकेका छन् । संसद सचिवालयले प्रदेशसभाका सभामुख र उपसभामुखसहित ८८ जना प्रदेशसभा सदस्यलाई चैत मसान्तसम्मको पारिश्रमिक वापतको रकम बैंक खातामा जम्मा गरिदिएको थियो । संसद सचिवालयका लेखा शाखाका अनुसार मासिक ४५ हजार रुपैयाँका दरले प्रदेशसभाका सदस्यहरुलाई पारिश्रमिक वापतको रकम उपलब्ध गराइएको जनाएको छ ।

प्रदेशसभाका सदस्यहरुले सपथ लिएको माघ ७ गतेयता चैत मसान्तसम्मको हुन आउने एकमुष्ठ १ लाख २४ रुपैयाँका दरले पारिश्रमिक बुझेका छन् । प्रदेश सरकारले कानुन बनाइ नसक्दै प्रदेशसभाका सदस्यहरुले पारिश्रमिक बुझेका थिए ।

प्रदेश नम्बर १ मा ९२ जना प्रदेश सभा सदस्य छन् । प्रदेशसभामा समानुपातिकबाट एमालेका १५, कांग्रेसका १३, माओवादी केन्द्रका ५, संघीय समाजवादी फोरमका २ तथा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चबाट १–१ जना गरी ३७ जना सांसद छन् ।