काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर–१ मा लुम्बिनी लायन्सले काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराउँदै क्वालिफायर्स–२ मा प्रवेश गरेको छ । यता आजको हारसँगै काठमाडौँ भने प्रतियोगिताबाट बाहिरिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १११ रनमै समेटियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १७.४ ओभरमा ६ विकेट गुमाउँदै विजयी भएको हो ।


ADVERTISEMENT

# # #


लुम्बिनीको जितका लागि डार्सी सटले सर्वाधिक ३३ रन बनाए । त्यसक्रममा उनले ३४ बलमा २ छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले सर्वाधिक २३ रन हाने भने कप्तान रोहित पौडेल १८ र निरोशन डिक्वेल्लाले १४ रनको योगदान दिए ।

बलिङतर्फ काठमाडौँका सन्तोष यादवले सर्वाधिक २ विकेट लिए । यस्तै कप्तान करण केसी, सन्नी पटेल, साहब आलम र राशिद खानले समान १–१ विकेट हात पारे ।

यसअघि काठमाडौँका लागि आठौँ नम्बरमा ब्याटिङमा आएका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । सोक्रममा उनले १७ बलमा १ छक्का प्रहार गरे ।

यस्तै आदिल आलम र जोन सिम्पोनले समान १८–१८ रन बनाए भने भीम सार्कीले १४ र सन्तोष यादवले रन बनाउँदादा अन्यले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए । सोक्रममा शेरले ४ ओभरमा २२ रन खर्चिँदा रोहितले २५ रन दिए । यस्तै अविशेष गौतमले १ विकेट हात पारे ।

लुम्बिनीले अब फाइनल प्रवेशका लागि भोलि (बिहीबार) विराटनगर किंग्ससँग खेल्नेछ । सुदूरपश्चिम रोयल्स विराटनगरलाई क्वालिफायर्स–१ मा हराउँदै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

एनपीएलको फाइनल शनिबार हुनेछ ।