काठमाडौँ – भूगर्भ सिमेन्ट लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


पश्चिम नेपालको विश्वसनीय तथा उदयोन्मुख अग्रणी सिमेन्ट उद्योग मानिने भूगर्भ सिमेन्टले मंगलबार एक कार्यक्रमको आयोजना गरी साधारणसभा सम्पन्न गरेको हो । कम्पनीको ७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नन्दी केशर पौड्यालले उद्योगको अवस्थाबारे जानकारी गराए ।


ADVERTISEMENT

# # #


उनले हाल उद्योगले दीर्घकालीन स्वावलम्बन र प्रतिस्पर्धात्मक उत्पादन क्षमताका लागि ८ सय देखि १ हजार मेट्रिक टन क्षमताको प्रतिदिन रोटरी प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको बताए । उनले भने, ‘आर्थिक वर्ष २०८१/८२ सम्मको चुक्तापूँजी रु. ५० करोड ५० लाखको १००ः६० हकप्रद शेयर जारी गरी ८० करोड ८० लाख र त्यस पश्चात २० प्रतिशत साधारण शेयर (आईपीओ) जारी गरी कम्पनीको चुक्तापूँजी रु. १ अर्ब १ करोड पुग्नेछ ।’

उनका अनुसार कम्पनीले आ.व. ०८१/८२ मा रु. १६६.९८ करोडको कारोबार गरेको छ जुन गत आ.व. भन्दा २० प्रतिशतले बढी हो । आ.व. ०८१/८२ मा कम्पनीले रु. ३.१९ करोड को नाफा आर्जन गर्न सफल भएको छ ।

‘कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणलाई प्रदान गर्ने गरी नेपाल धितोपत्र बोर्ड मा दर्ता प्रक्रिया पूरा गरिसकेको छ ।’ उनले थपे, ‘साथै, २०८२ आषाढ मसान्तसम्मका तिर्नुपर्ने सम्पूर्ण ब्याज तथा बक्यौता रकम समयमै चुक्ता गरिएको छ, जुन उद्योगको आर्थिक अनुशासनको प्रतीक हो ।’

साथै अध्यक्ष पौड्यालले उद्योगले प्रत्यक्षरूपमा फ्याक्ट्री कार्यालय तथा खानी गरी करिब सयभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरेको र ढुवानी, वितरण तथा डिलर नेटवर्कमार्फत अप्रत्यक्ष रूपमा थप हजारौं रोजगारी सिर्जना भएको बताए ।

ओपीसी र पीपीसी दुबै प्रकारका गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले हाल उद्योगको क्लींकर उत्पादन क्षमता ३०० मेट्रिक टन प्रतिदिन तथा सिमेन्ट उत्पादन क्षमता ५०० मेट्रिक टन प्रतिदिन रहेको छ । आवश्यक चुनढुंगा उद्योगकै आफ्नै खानी अर्घाखाँचीको खाँचीकोटबाट उत्खनन गरिएको छ, जुन चुनढुंगा स्तरीय मापदण्डअनुसार उच्च गुणस्तरको मानिन्छ ।

उद्योगको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–११, सिटिसी मलमा रहेको छ भने आधुनिक उत्पादन फ्याक्ट्री कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ मा अवस्थित छ । स्थापना पश्चात उद्योगले विश्वास, गुणस्तर र निरन्तर सेवा प्रदान गर्दै पश्चिम नेपालको निर्माण बजारमा उल्लेखनीय स्थान बनाएको छ ।

उत्पादन वृद्धि, वित्तीय अनुशासन, कर्जा व्यवस्थापन, पुँजी सुदृढीकरण तथा विस्तार योजनासहित उद्योगले पछिल्ला वर्षहरूमा स्थिर प्रगति हासिल गरेको छ । पश्चिम नेपालका उपभोक्ताको अपेक्षा अनुरूप बलियो, भरपर्दो र गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने उद्योगको प्रतिबद्धता यथावत् रहेको छ ।

चुनढुंगा खानी रोयल्टी, सामाजिक सुरक्षा कोषमा योगदान, स्थानीय कर तिर्ने कार्य तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम (खानी क्षेत्रको स्थानिय विद्यालयमा एक जना शिक्षकको वार्षिक तलब, विधार्थीलाई न्यानो कपडा वितरण, वृक्ष रोपण कार्यक्रम) मार्फत उद्योगले राष्ट्र तथा स्थानीय समुदायप्रति उल्लेखनीय योगदान पुयाउँदै आएको अध्यक्ष पौड्यालले जोड दिए।