काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मिति २०८२ पौष ३ गते पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिटको आयोजना गर्यो ।


ADVERTISEMENT


गण्डकी प्रदेशलाई विशेष रुपमा उल्लेख गर्दै यो कार्यक्रम उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा केन्द्रित थियो । यसका साथै यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइयो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले सम्बोधनका क्रममा गण्डकी प्रदेशमा विशेष गरी पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतसँग बढ्दै गइरहेको पर्यटन सहकार्यको स्वागत गरे ।

आफ्नो मन्तव्यमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा भएको सुधारले अन्तरदेशीय पर्यटनलाई थप गति प्रदान गरिरहेको कुरा उल्लेख गरे । उनले नेपालका विभिन्न स्थानहरु तथा भारतका छिमेकी राज्यहरु समेटिएका धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथ (सर्किट) हरुको प्रवर्द्धनमार्फत सहितका नेपाल र भारतबीचको पर्यटन सम्भावनालाई पूर्ण रुपमा उपयोग गर्न दुवै पक्षका संयुक्त प्रयासको महत्वमाथि जोड दिए ।

उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले आगामी माघ मेलालाई विशेष रुपमा उल्लेख गर्दै उत्तर प्रदेशका पर्यटन परिपथहरुबारे प्रस्तुति दिए । साथै उनले पर्यटन नीतिको कार्यान्वयनका सम्बन्धमा उत्तर प्रदेशमा अपनाइएका उत्कृष्ट अभ्यासहरु पनि साझा गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आफ्नो प्रस्तुतिमार्फत नेपालको पर्यटन क्षेत्रको बारेमा विस्तृत जानकारी दिए । उनले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये भारत सबैभन्दा ठूलो स्रोत भएको उल्लेख गर्दै भारत( नेपाल पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले गरेका विभिन्न पहलहरूको बारेमा प्रकाश पारे।

कार्यक्रमको बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उक्त छलफलमा विशेष गरी स्थल मार्गबाट हुने अन्तरदेशीय पर्यटन प्रवर्द्धनलाई जोड दिइएको थियो । दुवै पक्षका टुर अपरेटरहरूले बौद्ध परिपथहरु, वन्यजन्तु र साहसिक पर्यटन लगायतका क्षेत्रमा हुनसक्ने सम्भावित सहकार्यबारे छलफल गरे ।

यसै कार्यक्रमको एक भागको रूपमा पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डले उत्तर प्रदेश राज्यका प्रतिनिधिमण्डलका लागि मिति २०८२ मंसिर २९ देखि पौष २ गते सम्म एक परिचयात्मक भ्रमणको आयोजना गरेका थिए ।