काठमाडौँ – सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने कुरामा जेनजी युवाहरुले सरकारलाई खवरदारी गर्नुलाई अन्यथा लिन नहुने बताएका छन् ।
आइतबार मन्त्रालयमा पदबहाली गरेको तीन महिनाको अवधिमा भएका मन्त्रालयगत उपलब्धिहरू सार्वजनिक गर्र्दै मन्त्री खरेलले जेनजी युवाका विभिन्न समूहहरुले अघि सारेका मागप्रति सरकार जानकार रहेको भन्दै देशमा सुशासन कायम गर्ने कुरामा खबरदारी गर्न सडकमा जानु, शान्तिपूर्ण प्रदर्शन गर्नुलाई अन्यथा लिन नहुने बताएका हुन् ।
उनले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि निर्मम रुपमा कार्य गर्दै अघि बढिरहेको जिकिर गरे । सरकार तोकिएको समयमा नै निर्वाचन गर्न प्रतिवद्ध रहेको भन्दै उहाले निर्वाचनको वातावरण सहज बन्दै गएको दाबी गरे ।
त्यस्तै मन्त्री खरेलले आफ्नो कार्यकालमा पत्रकार सरेश रजकलाई सहिद घोषणा, आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, निःशुल्क वाइफाई इन्टरनेट जडान लगाएतका काम भएको जानकारी दिए ।



























































