काठमाडौं – नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेट सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन वाइफाई ६ प्रविधियुक्त राउटर (सीपीई)र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ । यससँगै अब न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वाइफाई ६ प्याकेज अन्तर्गत वितरण गरिनेछ ।
नेपाल टेलिकमले हालसम्म वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएकोमा अब वाइफाई ६ प्रविधिको सीपीईसँगै पहिलो पटक एपी समेत उपलब्ध गराउन लागेको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या समाधान हुने तथा इन्टरनेट स्पिड अझ तीव्र हुने टेलिकमले जनाएको छ ।
वाइफाई ६ प्रविधिले एकै पटक धेरै डिभाइस कनेक्ट गर्न, सबै प्रयोगकर्तालाई फुल स्पिडमा इन्टरनेट सेवा दिन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन तथा सुरक्षित र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
ग्राहकहरूका लागि नेपाल टेलिकमले वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध गराएको छ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट तथा टेलिफोन, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन र इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोनमध्ये कुनै एक प्याकेज छनोट गर्न सकिनेछ । त्यसैगरी प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट मात्र, प्रिमियम इन्टरनेट–बेसिक एनटीटीभी र प्रिमियम इन्टरनेट–प्रिमियम एनटीटीभी प्याकेज उपलब्ध छन् ।
यी सबै प्याकेजहरू १००, १५० र २०० एमबीपीएस क्षमतामा उपलब्ध हुनेछन् भने मोबाइलमा डाटा सुविधा समेत समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ ।
वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचको नयाँ दररेट तथा अन्य जानकारी नेपाल टेलिकमको वेबसाइट, ‘नेपाल टेलिकम’ एप, १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयमार्फत प्राप्त गर्न सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिनुभएको छ ।



























































