सिन्धुली – बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कमलामाई सामाजिक उद्घमी महिला दुग्ध सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको उद्घाटन सम्पन्न भएको छ ।
कमलामाई नगरपालिका–४ ढकालगाउँमा आयोजित कार्यक्रममा बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २५ लाख रुपैयाँको बिल्कीवे परियोजना र थप ४० लाख रुपैयाँ गरी करिब ६५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको केन्द्र उद्घाटन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दूध संकलन तथा चिस्यान केन्द्र सञ्चालन र विस्तारका लागि आवश्यक आर्थिक सहयोग गर्न बागमती प्रदेश सरकार सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले गरिबको आयआर्जन वृद्धि गर्नु, स्वास्थ्य र न्याय सुनिश्चित गर्नु नै गणतन्त्रको मूल धर्म भएको बताए । राज्यको मुख्य जिम्मेवारी पूँजी विकास गरी कर संकलनमार्फत जनतालाई सेवा र सुविधा प्रदान गरेको उल्लेख गर्दै प्रदेश सरकारले त्यसैअनुसार काम गरिरहेको स्पष्ट पारे ।
मुख्यमन्त्री बानियाँले हाल सहकारीमा रहेका ८० वटा गाईलाई आगामी दिनमा क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए । साथै, सिन्धुली मात्र नभई बागमती प्रदेशभर दुग्ध उत्पादनमार्फत गरिब परिवारलाई आत्मनिर्भर बनाउने अभियानमा महिला दिदीबहिनीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै तीनै तहका सरकारलाई सहयोगका लागि आग्रह गरे ।
उनले बागमती प्रदेश सरकारले गरिब तथा विपन्न एक हजार घरपरिवारलाई बिना धितो दुई लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने नीति अघि बढाएको जानकारी दिए । कृषि खेती, गाईपालन, मौरीपालन, कुखुरापालन, बाख्रापालन तथा तरकारी खेतीजस्ता क्षेत्रमा संलग्न हुन इच्छुक परिवारलाई स्थानीय तहसँग समन्वय गरी सहयोग प्रदान गरिने र उक्त रकममा कुनै पनि ब्याज नलाग्ने व्यवस्था गरिने बताए । दुईदेखि तीन वर्षसम्मको कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयन गरिने उनको भनाइ थियो ।
मुख्यमन्त्री बानियाँले प्रदेश भनेको विकास, भूगोल, पहिचान र नेतृत्वको प्रतिस्पर्धा भएको उल्लेख गर्दै समावेशी र दिगो विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।





























































