काठमाडौं — जिल्ला समन्वय समिति काभ्रेपलान्चोकद्वारा आयोजित संघ, प्रदेश र स्थानीय तहबीचको विषयगत समन्वय तथा सहजीकरण कार्यक्रम बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विगतमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्नु सरकारको मुख्य दायित्व भएको बताए। उनले आगामी आर्थिक वर्षको बजेट प्रणालीलाई थप व्यवस्थित बनाउँदै प्रदेशभित्र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा योजना छनोट गरिने स्पष्ट पारे।
मुख्यमन्त्री बानियाँले आगामी वर्षको बजेट प्रदेशभित्रका स्थानीय तहहरूले छनोट गरेका योजना बाहिर नजाने गरी व्यवस्थापन गरिने विश्वास दिलाए। उनले बजेट विनियोजनमा कुनै पनि राजनीतिक दबाब वा प्रभाव नहुने र जनताको वास्तविक आवश्यकता तथा अभावलाई आधार बनाएर स्थानीय तहसँग सम्बन्धित प्रदेशका निर्वाचित प्रतिनिधिहरूको समन्वयमा योजना छनोट प्रक्रिया अघि बढाइने बताए।
उनले बजेट बाहिरबाट आउने भन्ने आशंका निराधार भएको स्पष्ट गर्दै विगतका समस्याहरू समाधान गर्दै लैजानु बागमती प्रदेश सरकारको प्रमुख जिम्मेवारी भएको प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले सडक, खानेपानी, कृषि लगायतका क्षेत्रहरूमा देखिएका समस्या समाधान गर्न यस वर्ष विपद् व्यवस्थापनमार्फत जति सकिन्छ त्यति काम गरिने र अत्यावश्यक योजनाहरूलाई प्रदेश सरकारले प्राथमिकतामा राखी छिटो निर्णय गर्ने जानकारी दिए।
आउँदो आर्थिक वर्षका लागि स्थानीय तहले आफ्नै क्षमताले सम्पन्न गर्न नसक्ने योजना तथा कार्यक्रमहरू प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्ने पनि उनले बताए।



























































