काठमाडौँ – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीको सञ्चालक समितिका अध्यक्ष उदय श्रेष्ठको सभापतित्वमा विराटनगरमा सम्पन्न भएको हो ।
उक्त साधारण सभामा अध्यक्ष श्रेष्ठले कम्पनीको आ.व. २०८१/८२ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन पारित, सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा अन्य प्रस्तावहरू अनुमोदनका लागि सभा समक्ष राखेका थिए । उक्त प्रस्तावहरु सभाले सर्वसम्मत्तिले पारित गरेको छ ।
यस्तै वार्षिक साधारण सभाले कम्पनीको चालु आ.व. २०८२/०८३ को बाह्य लेखापरीक्षण, आयकर लेखापरीक्षण तथा विस्तृत लेखापरीक्षण प्रतिवेदन, बीमाको वित्तीय विवरण परीक्षण र अन्य विवरण प्रमाणिकरण गर्नका नेहा एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सभाबाट सर्वसम्मतबाट पारि गरेको छ ।
यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको रिक्त रहेको पदमा निर्विरोध निर्वाचित भएका नवराज सुक्काको नाम अनुमोदन सभाबाट अनुमोदन गरिएको छ । यस्तै सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम आ.व. २०८१/०८२ को लागि लाभांश वितरण नगर्ने प्रस्तावलाई सभाबाट सर्वसम्मत पारित गरिएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हालको चुक्ता पूँजी रु.७५ करोड मात्रको १०० प्रतिशत (१ः१) हकप्रद शेयर जारी गर्न नियामक निकायको स्वीकृति पश्चात आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने निर्णय सभाबाट पारित गरिएको छ । नियामक निकायको निर्देशन भएमा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने समेत निर्णय भएको छ ।
यस्तै कम्पनीले आ.व. २०८१/०८२ मा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको नीति अनुसार ग्रामीण क्षेत्रमा रहेका विपन्न वर्गका महिलाहरूको मातृ शिशु स्याहार तथा सुत्केरी खर्च रकमलाई अनुमोदन गर्ने प्रस्तावका सम्बन्धमा सभाबाट सर्वसम्मति अनुमोदन गरिएको छ ।
सभामा अध्यक्ष श्रेष्ठले आ.व. २०८१/०८२ मा बीमा क्षेत्रमा साधारण सभा गर्ने प्रथम रहेको उल्लेख गर्दै कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरे पश्चात भएको साधारण सभामा सहभागी शेयरधनी, बीमित, अभिकर्ता र कर्मचारीलाई धन्यवाद दिए ।
यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको प्रगति विवरण, कम्पनीका भावी कार्यक्रमहरू पेश गरेका थिए । उनले स्थापना कालको तेस्रो वर्षमा ४ करोड ०७ लाख ५८ हजार ५४२.०७ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी गराए । उनले कम्पनीलाई लघु जीवन बीमाको क्षेत्रमा अग्रणी बनाई आगामी दिनमा शेयरधनीलाई उचित प्रतिफल दिन सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरे ।


























































