काठमाडौँ – जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच सहमति भएको बताएका छन् ।
उनीहरुलाई एकै ठाउँमा ल्याएको भन्दै सुदनले अब तीनै जना एक भएर निर्वाचनमा जाने दाबी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’
उनीहरुबीच सोमबार काठमाडौँको कमलपाखरीस्थित एक घरमा भएको वृहत् छलफलपछि सहमतिको टुंगो लागेको हो । रवि र बालेनबीच यसअघि नै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने गरी ७ बँदे सहमति भएको थियो । यता कुलमानलाई पनि सँगै लिने गरी दुबै नेताले लागातार प्रयास गर्दै आएका थिए ।
तर, कुलमानले विभिन्न माग राख्दै एक भएर निर्वाचन लड्न आनाकानी गर्दै आएका थिए ।


























































