एजेन्सी – संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले सन् २०२६ मा अफगानिस्तानका लागि एक अर्ब ७१ करोड अमेरिकी डलर बराबरको मानवीय सहयोग आहवान सार्वजनिक गरेको छ ।
ओचाका अनुसार आगामी वर्ष अफगानिस्तान विश्वकै सबैभन्दा गम्भीर मानवीय सङ्कट झेलिरहेका मुलुकहरूमध्ये एककै रूपमा रहनेछ । सन् २०२६ मा करिब दुई करोड १९ लाख मानिसलाई कुनै न कुनै प्रकारको मानवीय सहायता आवश्यक पर्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम भए पनि अवस्था अझै चिन्ताजनक रहेको छ ।
यसैगरी, करिब एक करोड ७४ लाख मानिस गम्भीर खाद्य असुरक्षाबाट प्रभावित हुने अनुमान गरिएको छ, जसमा ४७ लाख मानिस आपतकालीन अवस्था (आईपीसी चरण ४) मा पर्नेछन् । संयुक्त राष्ट्रसङ्घ र यसका मानवीय साझेदार संस्थाहरूले आवश्यकतामा रहेका करिब एक करोड ७५ लाख मानिसलाई प्राथमिकताका साथ सहयोग पु¥याउने योजना बनाएका छन्, जुन कुल आवश्यकतामा परेका मानिसको करिब ८० प्रतिशत हो ।
ओचाका अनुसार सहयोग कार्यक्रम जीवनरक्षक र सुरक्षामूलक सेवामा केन्द्रित रहनेछ, जसअन्तर्गत खाद्य सहायता, अस्थायी आवास, स्वास्थ्य सेवा, पोषण, सुरक्षित खानेपानी, सरसफाइ तथा बहुउद्देश्यीय नगद सहयोग प्रदान गरिनेछ । अफगानिस्तानमा मानवीय अवस्था द्वन्द्व नभए पनि संरचनागत कमजोरी, बढ्दो खाद्य असुरक्षा, जलवायु परिवर्तनका कारण हुने खडेरी, बारम्बार आउने भूकम्प र बाढी, विभिन्न रोगको प्रकोप तथा विशेषगरी महिला र बालिकामाथि पर्ने सुरक्षा जोखिमका कारण गम्भीर बनेको ओचाले जनाएको छ ।
त्यसैगरी, सीमा पारबाट ठूलो सङ्ख्यामा नागरिक फर्किनुले समस्या झन् जटिल बनाएको छ । सन् २०२५ मा मात्रै २६ लाखभन्दा बढी अफगानी नागरिक इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन्, जसका कारण स्थानीय समुदाय, आधारभूत सेवा र रोजगारीका अवसरहरूमा थप दबाब परेको ओचाले उल्लेख गरेको छ ।


























































