काठमाडौं – माननीय इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री भए लगतै उनले प्रदेश सरकारको खर्च कटौती गर्दै मितव्ययिता अपनाएको सर्वविदितै छ । मुख्यमन्त्री भएपछि उनले सरकारका सबै निकायलाई आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन निर्देशन दिँदै आएका छन् ।


ADVERTISEMENT


सोही अनुसार आफूले पनि आफ्नो सचिवालयमा हुने खर्च कटौती गरिएको छ। उनले आफ्नो सरकारी निवासको खर्चदेखि आफूले चढ्ने सवारीको इन्धनसमेत निजी खर्चमा गर्दै आएको छ । उनको सचिवालयले हालसम्म भ्रमण भत्ता समेत नलिई काम गरिरहेको छ । आफ्नो सुविधा बापत प्राप्त हुने रकमबाट विपन्न परिवारको घर निर्माण गरिदिने घोषणा गरे अनुरूप मनहरी र कैलाश गाउँपालिकामा २ विपन्न परिवारको घर निर्माण गरेर हस्तान्तरण समेत गरिसकेको र राक्सिराङ गाउँपालिकामा विपन्नको घर निर्माणाधीन रहेको यथार्थ सबैमाझ छर्लङ्ग छ ।


ADVERTISEMENT

# # #


तर मुख्यमन्त्रीले गरेको सकारात्मक कार्यलाई ओझेलमा पार्न सकिन्छ कि भनेर केही व्यक्ति र समूह निरन्तर सक्रिय रहेको पनि प्रदेश बासी शुभचिन्तक, शुभेच्छुकहरू जानकार छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यमको दुरुपयोग गर्दै निरन्तर नकारात्मक सन्देश प्रवाह गर्दै व्यक्तिको चरित्र हत्या गर्न उद्धत व्यक्ति र समूहले बिहीबार सिराहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा मुख्यमन्त्रीले निजी खर्चमा हेलिकप्टर प्रयोग गरेको विषयमा भ्रम फैलाएको पाइएको छ ।

एकै दिन सिन्धुपाल्चोकको मेलम्ची ९ गुफा डाँडामा आयोजित छैटौं जलवायु सम्मेलनमा सहभागी भई सिराहामा पार्टीद्वारा आयोजित कार्यक्रममा मधेस र बागमती प्रदेशका पार्टी सभापतिहरूलाई आमन्त्रण गरिएकोमा बागमती प्रदेशका पार्टी सभापति समेत रहेका उनले सडक मार्गबाट जान असम्भव भई बाध्यात्मक परिस्थितिका कारण निजी खर्चमा गरिएको यात्रालाई भ्रमपूर्ण ढङ्गबाट प्रस्तुत गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वास्तविकता नबुझी बिहीबारको घटनाका बारेमा सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट अनावश्यक भ्रम फैलाउन खोजिएकाले यथार्थ प्रस्ट पार्ने दायित्व सम्झी यो विज्ञप्ति जारी गरिएको हो । बिहीबारको यात्राका क्रममा कुनै पनि सरकारी कोषको दुरुपयोग नभएको स्पष्ट पार्न चाहन्छौं ।

मुख्यमन्त्री सरकारी कोषको दुरुपयोग हुन नदिनेतर्फ सधैँ सचेत रहेकोमा सबैलाई विश्वस्त पार्न चाहन्छौं । साथै सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश फैलाउनु खोज्नु साइबर अपराध भएकाले यस्ता गलत सामग्रीको सम्प्रेषण नगर्नुहुन सबैमा अनुरोध छ । सञ्चार माध्यमहरूलाई पनि सत्य तथ्य जाँच गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने दायित्वबाट विमुख नहुन समेत सादर अनुरोध गर्दछौं ।

मुख्यमन्त्री बानियाँको सचिवालयको बिज्ञाप्ति ।