सिन्धुपाल्चोक – माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाको आयोजनामा छैटौं जलवायु सम्मेलन मेलम्ची नगरपालिका–९ गुफाडाँडामा सम्पन्न भएको छ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले स्थानीय स्तरमा गरिएको विकास आफैंका लागि काल बनेको हो कि विकासलाई व्यवस्थापन गर्न नसकेको हो भन्ने प्रश्न उठाए। उनले वातावरण र पर्यावरणलाई केवल सम्मेलनको विषय बनाउने कि वास्तविक जीवनशैलीमै लागू गर्ने भन्नेबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए।
मुख्यमन्त्री बानियाँले ३०–४० लाखका योजनाहरू, घर, घरमा पानी, बाटो जस्ता विकास गतिविधिहरूले वातावरणमा पारेको प्रभावबारे सोच्नुपर्नेमा जोड दिए। अब भोटको लागि मात्र राजनीति नगरी जनतालाई आत्मनिर्भर बनाउने र एकीकृत बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सोच्नुपर्ने उनले बताए।
उनले विशेषगरी सिन्धुपाल्चोक जिल्लामाथि प्रकृतिले अन्याय गरेको भन्ने गरिए पनि वास्तवमा मानवकै गलत क्रियाकलापका कारण जिल्लाले न्याय पाउन नसकेको उल्लेख गरे। विकासलाई व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्ने र गाउँको विकास कुनै पासो नबनियोस् भन्नेमा सचेत रहनुपर्ने उनले बताए।
मुख्यमन्त्री बानियाँले राजनीति भोटका लागि मात्र नभई जनताप्रति जिम्मेवार भएर गर्नुपर्ने उल्लेख गर्दै गाउँमा हुने प्रमुख उत्पादनसँग विकासलाई जोडेर स्थानीय सरकार र प्रदेश सरकार मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
जलवायु सम्मेलन मानव जीवनको रक्षाका लागि वातावरणीय सन्तुलन कायम गर्नुका साथै दिगो जीवनयापन आवश्यक रहेको उनले बताए। त्यसका लागि स्थानीय तथा प्रदेश सरकारले विभिन्न सीप र तालिम प्रदान गर्ने, नयाँ प्रविधि हस्तान्तरण गर्ने र व्यापार व्यवसाय गर्नेहरूका लागि गाउँपालिकासँग सहकार्य गरी बैंकमार्फत बिना धितो ऋण दिने योजना बनाइएको जानकारी पनि दिए। सम्मेलनमा जलवायु परिवर्तन, दिगो विकास र स्थानीय तहको भूमिकाबारे विभिन्न विषयमा छलफल गरिएको थियो।


























































