काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री शर्माले महाधिवेशनका विषयमा देखिएको अल्झनलाई छलफलबाटै समाधान गर्ने भन्दै पार्टी विभाजन हुने कुरा कल्पना बाहिरको कुरा भएको बताएका हुन् ।
पार्टीको विधानको व्यवस्था अनुरुप कुनै पनि कार्य गर्दा पार्टी नफुट्ने बरु थप एकढिक्का भएर अघि जाने उनले बताए । महामन्त्री शर्माले अहिलेको परिस्थीतिमा पार्टीको महाधिवेशन गरेर नयाँ नेतृत्व, नीति र दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा महाधिवशेन मितिमा मात्रै सीमित हुन पुगेको उल्लेख गरे ।
समयमा नै महाधिवेशन नहुने भएपछि दुवै महामन्त्रीले वक्तव्य दिएर नियमित महाधिवेशनको सूचना स्थगित गर्दै विशेष महाधिवेशनको विकल्पमा जोड दिएको उनले बताए ।
उनले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र विचारका साथ आम निर्वाचनमा होमिनुपर्ने नै अहिलेको पार्टीको मुख्य विकल्प भएको तर्क गरे ।


























































