काठमाडौं – भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि सरकारले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृहमन्त्री सुधन गुरुङले आपत्कालीन सार्वजनिक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेका हुन्।
बाढीको असरलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा अर्को सूचना जारी नभएसम्म आवागमन रोक्न अनुरोध गरिएको छ।
भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म ठूलो बाढीको जोखिम रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ। विशेषगरी रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
गृहमन्त्री गुरुङले खोज तथा उद्धार आवश्यक परे वा कुनै प्रकारको सहायता चाहिएमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन्। सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सुरक्षा तथा उद्धार संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।






























































