काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित गरेको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवशेनसम्बन्धी नयाँ कार्यतालिका पारित गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले केन्द्रीय केन्द्रीय समितिको म्याद विधान अनुसार २०८३ जेठ मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको उनले बताए ।
पारित कार्यतालिकामा चैत २१ गते गाउँ/नगर वडा अधिवेशन, चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन वैशाख २ गते र दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन वैशाख ५ गते, प्रदेश अधिवेशन २०८३ वैशाख १०, ११ र १२ गते गर्ने उल्लेख छ । प्रवक्ता महतले विशेष महाधिवेशनको औचित्य मंसिर १५ बाटै समाप्त भइसकेको बताए ।
क्रियाशील सदस्यता र आम निर्वाचनको कारणले यसअघिको कार्यतालिका प्रभावित भएको कारणले केही समय पर सारिएको भन्दै उहाले यसमा केहि नेताहरुको फरक मत रहेको जानकारी दिए ।
यसअघि केन्द्रीय समितिले पुसमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर तोकिएको समयमा महाधिवेशन गर्ने कार्यतालिका प्रभावित भएपछि कार्यसम्पादन समिति बैठकले बैशाखमा महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको हो ।



























































