काठमाडौं– आज दिउँसो तीन बजेका लागि बोलाइएको  ब्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दलका सांसदले दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता नलिए संसद चल्न नदिने अडान लिएपछि बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।


ADVERTISEMENT


न्यायपालिकामाथि ठाडो हस्तक्षेप भएको भन्दै प्रस्तावको बिपक्षमा रहेको एमालेले प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने बताएको थियो । संसदको आजको कार्यसूचीमा कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलको दिन र समय तोक्ने उल्लेख थियो ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ जना सांसदले गत आइतवार संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्तावमाथि छलफलको समय तोक्दै सभामुख ओनसरी घर्तीले आजको बैठकबाट सो प्रस्ताव संसद भित्र प्रवेश गराउन लाग्नु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालसँग बिहान भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव फिर्ता लिन आग्रह गर्दै नभए संसद चल्न नदिने बताउनुभएको थियो ।

गत आइतवारको संसद बैठकबाट सरकारले संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरेपनि आवश्यक दुई तिहाई नपुग्ने भएपछि आजका लागि सारेको थियो । यद्यपी आजको कार्यसूचीमा संशोधन विधेयक भने समावेश गरिएको थिए ।