काठमाडौं– सत्तारुढ नेकपा एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा भएको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।


ADVERTISEMENT


प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले मुख्यमन्त्री राउतसँग सो अभिव्यक्ति तत्काल सच्याउन पनि गम्भिर ध्यानाकर्षण गराए । जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री राउतले ‘संविधानविरुद्ध संघर्ष’ गरिरहनु परेको अभिव्यक्ति दिएका थिए ।


ADVERTISEMENT

# # #


सो अभिव्यक्ति कूटनीतिक मर्यादा समेत उलंघन हुनेगरी आएको भन्दै उपाध्यक्ष रावलले तत्काल सच्याउन माग गरे । छिमेकी देशका प्रधानमन्त्री आएका बेला मुलुकलाई कमजोर बनाउने खालको अभिव्यक्त आएकोमा भन्दै उनको आपत्ति छ ।

उपाध्यक्ष रावलले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाएका छन् । उनले सो अभिव्यक्ति फिर्ता लिन पनि सांसद आजादको गम्भिर ध्यानाकर्षण गराए ।

मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेका थिए । आजादको सो टिप्पणी नेपालको स्वाभिमानविरुद्ध भएको भन्दै उपाध्यक्ष रावलले आपत्ति जनाए ।

उनले नेपालको अस्मितमाथि नै प्रश्न उठाउने गरी आएको आजादको सो भनाई कुनै पनि नेपालीलाई सैह्य नहुने चेतावनी पनि दिए ।