काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग नेपाल २ रनको साँघुरो अन्तरले पराजित भएको हो ।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्र जोड्न सकेपछि नेपाल लक्ष्य नजिक पुगेर रोकिएको हो ।
खेलको अन्त्यतिर नेपाललाई २४ बलमा ४८ रन आवश्यक रहँदा रुबिना र सीताले संयमित ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए । रुबिना क्षेत्रीले अविजित ३७ रन बनाइन् भने सीता राना मगरले अविजित २७ रन जोडिन् । बिन्दु रावलले १८ रनको योगदान दिइन् ।
नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् भने स्टेर कालिसले ३० रन जोडिन् । रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन् ।
नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान १–१ विकेट लिए । नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पनि पराजित भएको थियो । यस जितसँगै नेदरल्यान्ड्स सुपर सिक्स चरणमा प्रवेश गरेको छ ।



























































