काठमाडौँ – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
उनको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै आयोगले चौधरीको उम्मेदवारी रद्द गरेको हो । यससँगै चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।
सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखिएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । ‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतले गरेको निर्णयमा उल्लेख छ।
टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए।
सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं। २ का एक, रौतहट जिल्ला क्षेत्र नं. १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं। २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।
रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो ।



























































