राहुल गुप्ता, बारा – सरस्वती पूजाको अवसरमा फेटा गाउँपालिका–०३ स्थित अवस्थिस श्री ने.रा.मा.वि., फेटा–०३ को विद्यालय प्रांगणमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
फेटा गाउँपालिका अन्तर्गत आयोजित उक्त कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको हो।
कार्यक्रम अन्तर्गत वडा नं. ३ का शिवम कुमार गुप्ता र प्रिया साह तथा वडा नं. १ का लेगशुप सागर पूर्णलाई उत्कृष्ट नतिजा हासिल गरेकोमा सम्मान गरिएको थियो। फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी सम्मानित तीनै जना विद्यार्थी तथा उनीहरूका अभिभावकहरूलाई खादा र गमछा ओढाई सम्मान गर्नुका साथै ल्यापटप वितरण गरेका हुन्।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख भोलाप्रसाद यादव तथा फेटा–०३ का सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।






























































