काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यतिबेला चुनावी अभियानका क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सक्रिय छन्।
उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गर्नुका साथै स्थानीय समर्थकहरूसँग भेटघाट गरेका छन्।
बालेनले कैलाली निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कोलम ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगी चुनावी तयारीबारे जानकारी लिएका हुन्।
उनको उपस्थितिमा प्रत्येक कार्यालयमा उल्लेख्य संख्यामा समर्थकहरूको भीड देखिएको थियो। सो क्रममा बालेनले उम्मेदवारहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या सुन्न, साथै परिवर्तनमुखी एजेन्डाबारे स्पष्ट रूपमा जानकारी गराउन आग्रह गरेका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट बाहिरिएपछि देशव्यापी राजनीतिक अभियानमा होमिएका बालेनको कैलाली भ्रमणले रास्वपाका उम्मेदवार तथा कार्यकर्ताहरूमा थप उत्साह र ऊर्जा भरेको स्थानीय नेताहरूले बताएका छन्।



























































