काठमाडौँ – निर्माण कम्पनी बानियाँ निर्माण सेवा प्रा. लि.ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाजुरामा उम्मेदवार बनेका हेमराज थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । थापाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अराजक अभिव्यक्ति दिएको र बाजुराको मार्तडी–कोल्टी सडकबारे भ्रम फैलाएको भन्दै बानियाँ निर्माण सेवा प्रा. लि.ले बुधबार उजरी दिएको हो ।
मार्तडी कोल्टी सडक निर्माण परियोजनासँग इन्द्र बहादुर बानियाँको नाम जोड्दै तथ्यहीन, भ्रामक तथा धम्कीपूर्ण अभिव्यक्ति दिएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताउँदै बानियाँ निर्माण सेवा प्रा. लि.ले थापाको उम्मेदवारी खारेज गर्न माग गरेको हो ।
हेमराज थापाले एक फेसबुक एकान्टमार्फत मार्तडी–कोल्टी सडक चाँडो सम्पन्न नगरे मुख्यमन्त्री बानियाँलाई कार्यालयमै पुगेर घाँटी समात्ने अराजक अभिव्यक्तिसहितको भिडियो सार्वजनिक गरेका थिए ।
उनले उक्त भिडियोमा भनेका छन्, ‘बाजुराको सडक यस्तो अलपत्र पारेर तपाईं हेलिकोप्टर चढेर पिकनिक खान जानुभएको छ । यो सडक कहिले पिच हुन्छ ? फागुन २१ मा चुनाव हुँदैछ । म आउँदैछु, सांसद भएर इन्द्र बानियाँजी, मुख्यमन्त्री कार्यालयमा आएर घाँटी समात्न नपरोस् है !’
तर, उनको यो अभिव्यक्ति तथ्यहीन र भ्रामक रहेको बानियाँ निर्माण सेवा प्रा. लि.ले जनाएको छ । उक्त ठेक्का लिएको मार्तडी कोल्टी सडक निर्माण परियोजनाको निर्माण कार्य सम्पन्न गर्ने समयावधि २०८४ साल असार मसान्तसम्म रहेको र निर्माण कार्य चालु रहेको बानियाँ निर्माण सेवा प्रा. लि.ले जनाएको छ । यस्तै उक्त परियोजनासँग मुख्यमन्त्री बानियाँको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि प्रकारको संलग्नता नरहेको बानियाँ कन्स्ट्रक्सनले जनाएको छ ।
थापाको उक्त अभिव्यक्तिले निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–७ अन्तर्गत दफा २५ को उपदफा (च)को उल्लंघन गरेकाले उनको उम्मेदवारी खारेज गर्न बानियाँ निर्माण सेवा प्रा. लि.ले निर्वाचन अयोगमसक्ष माग गरेको छ ।
उजरीमा भनिएको छ, ‘यसरी सामाजिक सञ्जालमार्फत इन्द्र बहादुर बानियाँज्यूलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०८२ को पालना नगरी उम्मेदवारले गर्न नहुने कार्य गरिएको हुँदा उक्त गतिविधि पूर्ण रूपमा प्रतिकूल, गैरकानुनी तथा निर्वाचनको स्वच्छतामाथि असर पार्ने खालको देखिएकोले आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा रास्वपाका उम्मेदवार श्री हेमराज थापाको उम्मेदवारी प्रचलित कानून बमोजिम खारेज गरि आवश्यक कारवाही समेत गरी पाऊँ भनी सादर अनुरोध गर्दछौं ।’



























































