ललितपुर । सहिद दिवसको अवसरमा ललितपुरको मंगल बजार, पाटनमा आयोजित कराते प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको छ।
समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेशमा खेलकुद विकासलाई उच्च प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले पूर्वमन्त्री रामकृष्ण चित्रकार हाल मन्त्री पदमा नरहे पनि खेलकुद क्षेत्रको विकास र विस्तारका लागि निरन्तर चिन्तित रहँदै सक्रिय रूपमा लागिरहेको उल्लेख गर्नुभयो। उहाँले बागमती प्रदेश सरकारले आगामी दिनमा देशभरका सातै प्रदेशको सहभागितामा खेलकुद प्रतियोगिता तथा महोत्सव आयोजना गर्ने योजना बनाइरहेको जानकारी दिए।
त्यसैगरी विशेष रूपमा बागमती प्रदेश खेल महोत्सव ललितपुर जिल्लामै आयोजना गर्ने परिकल्पनालाई साकार बनाउन प्रदेश सरकार र मुख्यमन्त्रीको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए।

सहिदको सम्झना र सम्मानमा दुई दिने खेलकुद कार्यक्रम आयोजना गरेकोमा आयोजक प्रयाग पोखरी डोजो, ललितपुरलाई धन्यवाद दिँदै मुख्यमन्त्री बानियाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वमन्त्री रामकृष्ण चित्रकार, खेलाडी दीपक श्रेष्ठलगायत खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



























































