काठमाडौँ – पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ ।


ADVERTISEMENT


पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले १–१ गोल गरे । संगिताले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन् ।


ADVERTISEMENT

# # #


प्रजिताले दोस्रो हाफको ७०औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । भुटानले ८७ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा भारतविरुद्ध २–० को जित निकाल्दै साविक विजेता बंगलादेश साफ यु– १९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । बंगलादेशलाई जित दिलाउन अर्पिता विश्वास अर्पिता र अल्पी अख्तरले १–१ गोल गरे । खेलको २९ औँ मिनेटमा अर्पिताको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो ।

४० औँ मिनेटमा अख्तरले टोलीको अग्रता दोब्बर बनाइन् । लगातार दोस्रो जितसँगै बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ । पहिलो पराजय व्यहोरेको भारतको समान खेलबाट ३ अंक छ ।