काठमाडौं – महिला तथा पुरुष बागमती प्रदेश आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८२ को उद्घाटन बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले खेलकुदले बालबालिका तथा युवालाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनुका साथै पठनपाठनमा समेत स्फूर्ति ल्याउने बताए। उनले विभिन्न खेलकुद गतिविधिले व्यक्तिलाई तन्दुरुस्त, फुर्तिलो र सक्षम नागरिक बनाउने उल्लेख गर्दै सक्षम नागरिकले मात्र देशको भविष्य उज्यालो बनाउन सक्ने धारणा राखे।
मुख्यमन्त्री बानियाँले खेलाडी उत्पादन गर्ने उद्देश्यले तेक्वान्दो संघका अध्यक्ष राजिव महर्जनलगायत टिम र कार्यसमितिले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता गतिविधि टोल–टोल, गाउँबस्ती, निर्वाचन क्षेत्र तथा पालिका तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले नयाँ पुस्तालाई खेलकुदमार्फत सशक्त बनाउन अहिलेको आवश्यकता रहेको बताउँदै समयमै युवालाई खेलतर्फ आकर्षित गर्न नसकिए मोबाइल र इन्टरनेटमा मात्र सीमित हुँदा शारीरिक अवस्था कमजोर हुने चेतावनी दिए। खेलकुदले नियम, अनुशासन र नैतिकताको पाठ सिकाउने भएकाले नैतिक विकासका लागि पनि खेल अनिवार्य रहेको उनले बताए।
खेलाडी कुनै पनि भूगोलको शान र पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले बालबालिका तथा युवालाई लक्षित गरी आयोजना गरिएको तेक्वान्दो प्रतियोगिताप्रति खुशी व्यक्त गरे। साथै, आगामी दिनमा खेलकुद मन्त्रालयमार्फत विभिन्न खेल प्रतियोगिताका लागि आवश्यक बजेट व्यवस्थापन गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले प्रदेशभरका युवालाई खेलमय वातावरणमा जोड्दै गलत बाटोमा जान नदिने उद्देश्यले १३ वटै जिल्लामा विभिन्न खेल महोत्सव सञ्चालन गर्ने बताए। साथै, सातै प्रदेशका खेलाडीलाई समेटेर बागमती प्रदेशमा खेल महोत्सव आयोजना गर्ने योजना रहेको बताए।
बालबालिका तथा युवालाई खेलकुदमा सहभागी गराएर शारीरिक र मानसिक रूपमा तन्दुरुस्त बनाउँदै बागमती प्रदेशलाई बलियो र भरपर्दो प्रदेश बनाउने परिकल्पना रहेको उनले स्पष्ट पारे।































































