काठमाडौं–मुम्बई इन्डियन्सले किङ्स ११ पञ्जाबमाथि ३ रनको रोमाञ्चक जित दर्ता गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार रातिको जितपछि डिफेन्डिङ च्याम्पियन मुम्बई १२ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिदै प्ले अफ सम्भावना बलियो बनाएको हो ।


ADVERTISEMENT


१ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो । उसका लागि ओपनर लोकेश राहुलले सर्वाधिक ९४ रन र आरोन फिन्चले ४६ रन बनाए पनि पञ्जाब लक्ष्यमा पुग्न सकेन । ६० बल खेलेका लोकेशले १० चौका र ३ छक्का प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


क्रिस गेलले १८ तथा अक्षर पटेलले अविजित १० रन जोडे पनि त्यो जितका लागि पर्याप्त रहेन । मुम्बईलाई जिताउन जसप्रित बुम्राहाले ४ ओभर बलिङ गर्दै १५ रन खर्चिएर ३ विकेट लिएका थिए । यस्तै मिचेल म्याक्लिघनले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । उसका लागि किरोन पोलार्डले अर्धशतक बनाएका थिए । २३ बल खेलेका पोलार्डले ५ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे । कुर्नाल पाण्डेले ३२, ओपनर सूर्यकुमार यादवले २७ र इशान किशनले २० रन बटुले । मिलेल म्याक्लिघनले अविजित ११ रन बनाउँदै सम्मानजनक स्कोर बनाए ।

पञ्जाका एन्ड्रीयू टेले सर्वाधिक ४ विकेट लिएका थिए। उनले ४ ओभरमा मात्र १६ रन खर्चिएका थिए । यस्तै रविचन्द्रन आश्विनले २ तथा अंकित राजपुत, मार्कुस स्टोनिसले समान १–१ विकेट लिएका थिए । यो जितसँगै मुम्बईको प्लेअफ सम्भावना कायमै रहेछ । पराजित पञ्जावको समान १२ अंक भए पनि रन रेटका आधारमा पछि परेको छ। समान खेलबाट १२ अंक नै बनाएको राजस्थान रोयल्स पाँचौ स्थानमा छ ।

आइपिएलमा बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।