मोरङ(रासस)–मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।


ADVERTISEMENT


बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन् । घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सञ्चार क्लबलाई जग्गा सहयोग
यसैबीच, पूर्वी मोरङका पत्रकारको साझा संस्था सञ्चार क्लब नेपाललाई रु २५ लाख बराबरको पाँच कट्ठा जग्गा सहयोग प्राप्त भएको छ । उर्लाबारी–६ का जंगबहादुर कार्की, बृद्धिसिंह तामाङ र ज्ञानु बास्कोटाले संयुक्तरुपमा क्लबको भवन निर्माणका लागि जग्गा सहयोग गरेका हुन् ।

उर्लाबारी नगरपालिका–६ का वडाध्यक्ष चिन्तामणि पौडेलको रोहवरमा बुधबार क्लबका अध्यक्ष सरोज बस्नेतलाई जग्गा प्रदानको सहमतिपत्र हस्तान्तरण गरेका हुन् ।

उर्लाबारी नगरपालिकाको बसपार्क निर्माणस्थल नजिकै रहेको उक्त जग्गामा निकट भविष्यमै सुविधासम्पन्न भवन निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । क्लबमा पूर्वी मोरङका ४० भन्दा बढी पत्रकार आबद्ध रहेका छन् ।