काठमाडौँ– प्रधानन्यायाधीश सुशीला कार्की नियमित कामका लागि सर्वोच्च फर्किएकी छन्। कार्की आज बिहान ९ बजेर ११ मिनेटमा सर्वोच्च अदालत प्रवेश गरेर आफ्नो दैनिक कामका सरिक भएकी छन्।


ADVERTISEMENT


प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिनुको साथै कार्कीलाई तत्काल काममा फर्कन भनेपछि उनी फर्केकी हुन्।


ADVERTISEMENT

# # #


सोही आदेशलाई कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किएकी हुन्। प्रधानन्यायाधीश कार्की आईतबार बिहान साढे ९ बजे सर्वोच्च अदालत पुगी दैनिक काम अन्तर्गत प्रधानन्यायाधीश कार्कीले न्यायाधीशहरुको इजलास तोक्नुको साथै मुद्दाहरूको प्राथमिकता हेरी पेशीमा चढाउनेछिन्।

वरिष्ठ न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार व्यवस्थापिका संसदमा प्रस्तुत भएको महाअभियोगको प्रस्ताव प्रथम दृष्टिमा नै उपयुक्त आधार र कारण नदेखिएको भन्दै त्यसमाथिको कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो।

फैसलामा स्वतन्त्र न्यायपालिकाको मर्म विपरित महाअभियोग प्रस्ताव पेश भएको भन्दै प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत रुपमा आफ्नो काम गर्न दिनू र दिलाउनू भनिएको थियो। प्रधानन्यायाधीश कार्की नियमित काममा फर्के पछि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका गोपाल पराजुली पूर्ववत् वरिष्ठ न्यायाधीशमा फर्किएका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादीका २ सय ४९ सांसदको हस्ताक्षरसहित वैशाख १७ गते व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो।