सोलुखुम्बु – प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै निर्वाचन गराउन सम्भव रहेको बताएकी छन्  ।


ADVERTISEMENT


हिमाली जिल्लाहरूमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले सोलु सहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उनले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिइन् ।

सो क्रममा प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा र सरकारी निकायका अधिकारीहरुसँग छलफल गरेकी थिइन् । सल्लेरीबाट प्रधानमन्त्री कार्की नेतृत्वको टोली भोजपुर पुगेको थियो । भोजपुरमा पनि उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग छलफल गरेकी थिइन् ।

त्यस्तै उनले बिहीबार नै सुनसरीको इटहरी पुगेर कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन् ।