हेटौंडा- बागमती प्रदेश सरकारद्वारा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को मूल समारोह कार्यक्रम हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।


ADVERTISEMENT


कार्यक्रम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षता तथा दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।


ADVERTISEMENT

# # #


समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रजातन्त्र दिवसले कुनै एक व्यक्तिलाई मात्र न्याय दिएको दिन नभई सम्पूर्ण राष्ट्रलाई न्याय दिलाएको ऐतिहासिक दिन भएको बताए। उनले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शासन र त्यसपछिको राणा शासनकालको सन्दर्भ उल्लेख गर्दै जनताले संघर्षमार्फत राजासहितको प्रजातन्त्र स्थापना गरेको स्मरण गरे।

उनले नेपाली जनताले विभिन्न कालखण्डमा आफू र देशमाथि अन्याय गर्ने शक्तिलाई माफी नदिने उल्लेख गर्दै प्रजातन्त्रको नाममा शासन गरेर लोकतन्त्र कमजोर बनाउने प्रवृत्तिप्रति सचेत रहनुपर्ने बताए। एकदलीय वा दुईदलीय जुनसुकै व्यवस्थामा पनि जनताको अधिकार मिचिए विश्वास गुम्ने अवस्था आउने उनले बताए।

मुख्यमन्त्री बानियाँले समानता र समावेशीताको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक नेपाली समाज प्रजातन्त्रको रक्षाका लागि कुनै पनि मूल्य चुकाउन तयार रहेको धारणा राखे। अन्याय भए जनताले अब सहन नसक्ने अवस्था देखिइसकेको उनले बताए।

प्रजातन्त्र दिवसका अवसरमा उनले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब देशमा फेरि कसैले सहिद बन्नुपर्ने अवस्था नआओस् भन्ने कामना गरे। उनले पारदर्शी, जवाफदेही र नागरिकप्रति उत्तरदायी शासन सञ्चालन गर्नु नै सबैको कर्तव्य भएको उल्लेख गरे।

आगामी दिनमा कुनै कमजोरी नगरी आफ्नो कर्तव्यप्रति प्रतिबद्ध भई संघ, प्रदेश र स्थानीय तहका सबै राजनीतिक दल, निजामती कर्मचारी तथा सम्बन्धित निकायले जिम्मेवार ढंगले काम गरे प्रजातन्त्रका लागि थप संघर्षको अवस्था नआउने उनले विश्वास व्यक्त गरे।