हेटौंडा – नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको छैटौं प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेस जनताको सिद्धान्तमा आधारित रहेर काम गर्ने पार्टी भएको बताए। उनले प्रजातन्त्र दिवसको सन्दर्भ उल्लेख गर्दै यो दिवस कुनै एक व्यक्तिलाई मात्र न्याय दिलाउने दिन नभई सम्पूर्ण राष्ट्रलाई न्याय दिलाउने ऐतिहासिक दिन भएको धारणा राखे।
उनले एकदलीय वा दुईदलीय जुनसुकै व्यवस्थामा पनि जनताको अधिकार मिचिए विश्वास संकट उत्पन्न हुने बताउँदै अहिले आम निर्वाचन जनताको बीचमा रहेको उल्लेख गरे। समानता र समावेशीताको लडाइँ अझै छ । बहुजातीय र बहुसांस्कृतिक नेपाली समाज प्रजातन्त्रको रक्षाका लागि कुनै पनि मूल्य चुकाउन तयार रहेको धारणा व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब देशमा फेरि कसैले सहिद बन्नुपर्ने अवस्था आउन नदिन पारदर्शी, जवाफदेही र नागरिकप्रति उत्तरदायी सुशासन आवश्यक रहेको बताए। संघ, प्रदेश र स्थानीय तहका सबै राजनीतिक दल, निजामती कर्मचारी तथा सरोकारवाला निकायले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरे प्रजातन्त्रका लागि थप संघर्षको अवस्था नआउने उनको भनाइ थियो।


























































