काठमाडौँ – फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई एक दिने तालिम दिन थालिएको छ ।
आइतबार फागुन १० गते देखि मोरङ क्षेत्र नं. ६ बाट शुरु भएको तालिम प्रत्येक क्षेत्रका मतदान अधिकृत र सहायक अधिकृतलाई दिदै फागुन १५ गते सम्म आयोजना गरिने प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । तालिम पछि फागुन १८ गतेदेखि सम्बन्धित मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाइने प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए ।
मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदान केन्द्र रहेको छ । फागुन १० गते मोरङ क्षेत्र नं. ६ का १ सय ४९ र एक अस्थायी मतदान केन्द्र गरी १ सय ५० मतदान केन्द्र तथा २ प्रतिशत थप गरी ३ सय ६ जनालाई तालिम दिइएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । तालिममा निर्वाचन ऐन कानुन, मतदान केन्द्र व्यवस्थापन र निर्वाचन सुरक्षा बारे प्रशिक्षण दिइएको छ ।


























































