काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई शान्तिपूर्ण बनाउदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरण बनाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार झापाको दमकमा आयोजित नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको भन्दै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरण बनाउनुपर्ने बताएका हुन् । उनले आसन्न निर्वाचनमा बुथ कब्जा गर्ने कल्पना समेत नगर्न चेतावनी दिदै चुनावका लागि हरेक बुथमा ३० जना भोलेन्टियर रहने गरी काम गर्न नेशनल युथ भोलेन्टियर्स फोर्सलाई निर्देशन समेत दिए ।


ADVERTISEMENT

# # #


ओलीले देशलाई सम्हाल्न सक्ने शक्ति एमाले मात्र रहेको दाबी गरे । देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने उनले बताए । ओलीले देशको विकासलाई तीव्रताका साथ अघि बढाउदा आफूलाई सरकारबाट हटाइएको धारणा राखे । आफूलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीजस्तो भएको भन्दै ओलीले देश कुद्नका लागि आफू सरकारमा आउनुपर्ने तर्क गरे ।

उनले केही व्यक्तिहरुले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्दै हिडेको र प्रधानमन्त्री बन्ने भन्ने कुरा ख्याल–ख्याल जस्तो लागेको बताए ।

आफूहरु भिजनका साथ समृद्ध नेपाल र सुखी नेपालीको स्पष्ट योजना र गन्तव्यसहित अघि बढेको उनको भनाइ छ ।