लिवाङ, रोल्पा– रोल्पामा नारामा मात्र सिंहदरबार आएको एक कार्यक्रममा सहभागीहरुले गुनासो गरेका छन् ।


ADVERTISEMENT


५ नं प्रदेशको मुख्य कार्यालय बुटवलको आयोजनामा प्रदेशसभा तथा प्रदेशसभा सचिवालयसम्बन्धी जानकारीमूलक आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा अघि सारिएपनि संघले प्रदेश र स्थानीय तहमा हस्तक्षेप गर्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले जिल्ला समन्वय समितिले कोसंग कहिले र कसरी समन्वय गर्ने भन्ने विषयमा स्पष्ट नीति नभएको हुँदा यस विषयमा प्रष्ट हुनुपर्नेमा जोड दिए । उनले आफूहरु निर्वाचित भएको एकवर्ष पुगिसक्दासम्म पनि स्वयंसेवकको भूमिका निर्वाह गरिरहेको बताए।

कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्रदेश असफल भए स्थानीय सरकार असफल हुने भएको हुँदा प्रदेश सरकारले विशेष संवेदनशीलताका साथ विविध गतिविधि संचालन गर्नुपर्ने सुझाव दिए ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले शान्ति सुरक्षा र सुशासन कायम गर्न सकेमात्र जनताले न्याय पाउने बताएका छन् ।
यस्तै कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रतिनिधि सुरेन्द्र घर्तीले जनताले सिंहदरबारको अधिकार गाउँमै पाएको अनूभूति गर्ने वातावरण मिलाउन सुझाव दिए ।

नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोरकुमार आचार्यले जनताका समस्या सम्वोधन हुनुको साटो प्रदेश सरकारबाट सधै सेवा सुविधा र पारिश्रमिककै बारेमा चर्चा चलिरहनु दुःखद पक्ष रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजलले कतिपय कुराहरुको केन्द्रबाट गाँठो नखुलेको हुँदा काममा असहजता भइराखेको बताए ।

यस्तै कार्यक्रमका ५ नं. प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनतासंग आफूहरु नयाँ नेपालको परिकल्पना साकार पार्न प्रतिबद्ध भएको स्मरण गर्दै सबै पार्टीको साझा दस्तावेजका रुपमा नेपालको संविधान रहेको तर यस्लाई कार्यान्वयनका चरणमा केही असहजता भएको उल्लेख गरे ।