काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट ऐतिहासिक जित हात पारेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचित भएको प्रमाणपत्र पाएका छन् ।
मतगणना सम्पन्न भएसँगै उनलाई केही बेरअघि मात्रै झापा–५ का निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई उनकै किल्लामा भारी मतान्तरले पराजित गरेका हुन् ।
त्यसक्रममा बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् । बालेनले ल्याएको मत यस पटकको निर्वाचनमा अहिलेसम्म कुनै पनि उम्मेदवारले प्राप्त गरेको सबैभन्दा धेरै हो । बालेनले पाएको यो मत कूल खसेको मतको ६४।१३ प्रतिशत हो ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन् । त्यसक्रममा ओलीले १८ हजार ७३४ मत पाए ।
यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३ मत ल्याउँदै तेस्रो भए भने नेपाली काँग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१ मत ल्याउँदै चौथो भइन् । यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख छ हजार ५६८ मत खसेको थियो ।
जितसँगै बालेनले अब आगामी सरकारको नेतृत्व गर्ने पक्का भएको छ भने एमाले अध्यक्ष ओलीको संसदीय राजनीतिमा ब्रेक लागेको छ । यसअघि उनी २०६४ साल यता लगातार जित्दै आएका थिए ।




























































