दमौली (तनहुँ) – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन तनहुँ क्षेत्र नं १ मा निर्वाचित भएर शनिबार प्रमाणपत्र ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई सही बाटोमा हिँडाउने जिम्मेवारी जनताले पार्टीलाई दिएको उल्लेख गरे ।


ADVERTISEMENT


अहिलेको निर्वाचनको परिणाम सौम्य शान्तिपूर्ण क्रान्ति भएको बताउँदै सांसद वाग्लेले भने, “एकथोपो रगत नबगाइकन जनता जनार्दन हुन्छन् भनेर चर्चा गरेको प्रणाली गोप्य मतदानमार्फत जनताले सुन सन्देश प्रवाह गर्नुभएको छ यसको चीरकायी महत्व रहेको छ । यसको ऐतिहासिक गाम्भीर्यतालाई बुझेर मुलुकलाई सही बाटोमा अगाडि बढाउनुपर्नेछ ।”


ADVERTISEMENT

# # #


सांसद वाग्लेले ठूलो जिम्मेवारी काँधमा आएको बताउँदै तनहुँका जनताले गर्व गर्न लायक सांसद बन्ने बताए । आम जनताले गरेको आशा थिति बसाइदिनुहोस्, सुशासन कायम होस् भन्ने अपेक्षा पूरा गर्न आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो । जेनजी आन्दोलनको जगमा भएको परिवर्तनको सम्बोधन गरिने बताउँदै उनले युवाहरूले आशा गर्न लायकको मुलुक बनाउने लक्ष्य रहेको बताउँदै त्यसलाई न्याय हुनेगरी बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका थिए । रासस