काठमाडौं –पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य उद्योगमा क्रियाशील नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ता शेयर अर्थात् ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने योजना बनाएको हो।
आईपीओ निष्काशनका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। यससम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा नेपालीरिका होटेल लिमिटेडका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच काठमाडौंको नयाँ बानेश्वरस्थित लक्ष्मी सन्राइज क्यापिटलको कार्यालयमा मिति २०८२ माघ २९ गते हस्ताक्षर भएको हो।
कम्पनीका अनुसार आईपीओ निष्काशनको यो पहलले संस्थागत विकास, पारदर्शिता अभिवृद्धि तथा नेपालको आतिथ्य र पर्यटन उद्योगको विस्तारमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। साथै, विशेषगरी पूर्वी नेपालको मोरङ क्षेत्रसहित आसपासका क्षेत्रमा लगानीका अवसर विस्तार गर्ने लक्ष्य पनि कम्पनीले लिएको जनाएको छ।
मोरङको विराटचोकमा अवस्थित नेपालीरिका होटेलमा १४६ वटा आधुनिक सुविधासहितका कोठा र सुइट उपलब्ध छन्। होटलमा विवाह, सम्मेलन तथा विभिन्न कर्पोरेट कार्यक्रम आयोजना गर्न मिल्ने बहुउद्देश्यीय हल तथा आवश्यक पूर्वाधार पनि रहेको छ।
त्यसैगरी दमकस्थित नेपालीरिका होटेलमा ३९ वटा आकर्षक कोठा र सुइट, रेस्टुरेन्ट तथा बार सञ्चालनमा छन्। परम्परागत नेपाली वास्तुकलामा निर्माण गरिएको हेरिटेज ब्लकमा रहेको यस होटलमा ५० देखि १५०० जनासम्म क्षमताको भोज तथा सम्मेलन आयोजना गर्न सकिने व्यवस्था र स्विमिङ पुलको सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
.


























































